काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।
भ्रमणका क्रममा लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा त्यहाँको शीर्ष नेतृत्वसँग महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक छलफल गरेका छन् ।
उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसहित दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता कपुरसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
त्यसैगरी, सभापति लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटेका छन् । ती भेटमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार-विमर्श भएको रास्वपाले जनाएको छ ।
दुई छिमेकी राष्ट्रबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ तुल्याउँदै लोकतान्त्रिक मूल्य-मान्यतामाथिको संवादलाई फराकिलो बनाउनु यो भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ ।