धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो ।
महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा हाल अमेरिका रहेकाले उपस्थित छैनन्। प्रदेशमा रहेका १७ सांसदमध्ये नौ जनाले नेतृत्व परिवर्तनको पक्षमा हस्ताक्षर गरेका थिए।
हस्ताक्षर गर्ने सांसदहरूमा महरा सहित दीवानसिंह विष्ट, मानबहादुर रावल, पदमबहादुर शाही, बेलबहादुर राना, जुना दानी, ललिता सुनार, गीता चौधरी, तुलसी देवकोटा रहेका थिए ।