काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट० लाई लिएर अनावश्यक रूपमा अतिरञ्जित प्रचार गरिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले कठिन र आवश्यक निर्णय गर्ने आँट गरेको उल्लेख गरे। उनका अनुसार १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तामा लाग्ने अतिरिक्त कर अत्यन्त न्यून भएकाले त्यसलाई ठूलो विषय बनाइएको हो। अर्थमन्त्री वाग्लेले ५० युनिटसम्म विद्युत् निःशुल्क रहेको र त्यसपछि लाग्ने कर पनि अत्यन्तै सानो भएको दाबी गरे। उनका अनुसार करको दर ५ प्रतिशत भए पनि उपभोक्ताले तिर्ने वास्तविक रकम निकै कम हुने भएकाले “आकाश खसेजस्तो” गरी प्रचार गर्नु गलत हो।
उनले बजेटमा विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी कर घटाउने व्यवस्था गरिएको पनि जानकारी दिए। साथै, केही प्राविधिक विषयहरू बजेट दस्तावेजमा छुटेको स्वीकार गर्दै ती विषय आगामी प्रक्रियामा समायोजन गरिने बताए। वाग्लेले बजेट निर्माण समय र स्रोत दुवै दृष्टिले चुनौतीपूर्ण भएको उल्लेख गर्दै सीमित समयमै सन्तुलित बजेट ल्याइएको बताए। उनका अनुसार धेरै क्षेत्रका विषयमा छलफल भए पनि पर्याप्त अध्ययन आवश्यक भएकाले केही कार्यक्रमहरू आगामी वर्षका लागि सारिएको हो। उनले सरकारले ऋणमा आधारित नभई आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिएको दाबी गर्दै पुराना दायित्वका कारण पनि बजेट व्यवस्थापन चुनौतीपूर्ण रहेको स्पष्ट पारे। साथै, सरकारका सीमितताका बाबजुद पनि धेरै रूपान्तरणकारी आयोजना समेटिएको उनको भनाइ थियो। अर्थमन्त्री वाग्लेले बजेटलाई अत्यधिक महत्वाकांक्षी नभई सन्तुलित र व्यवहारिक बनाइएको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम गर्ने सरकारको लक्ष्य रहेको बताए।