काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दोलनसँग सम्बन्धित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिनका लागि नयाँ आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीले संसदमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन तयार हुनु लोकतान्त्रिक अभ्यासको सकारात्मक पक्ष भएको बताए। तर उनले संसदको स्थापित नियम, प्रक्रिया र पद्धतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै त्यसलाई बाइपास गर्न नहुने स्पष्ट पारे। केसीका अनुसार विकसित देशहरूमा पनि प्रधानमन्त्रीले यस्ता अभ्यास गर्ने भएकाले यसलाई सकारात्मक रूपमा लिन सकिन्छ, तर संसदीय प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ।
उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनापछि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन हालसम्म औपचारिक रूपमा सार्वजनिक नभएको उल्लेख गरे।प्रतिवेदनको सारांश मात्र अनौपचारिक रूपमा सार्वजनिक भएको भन्दै उनले पूर्ण प्रतिवेदन संसदका सबै सदस्यलाई उपलब्ध गराउनुपर्ने माग गरे। साथै, भदौ २४ गते भएको घटनालाई अत्यन्तै विध्वंसात्मक भन्दै त्यसको सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष छानबिन आयोग गठन गर्न पनि उनले सरकारसँग आग्रह गरे।