काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ। रुघा, ज्वरो र हल्का निमोनियाका कारण विगत चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालमा उपचार गराइरहेका प्रचण्डको स्वास्थ्य स्थितिबारे बुझ्न आइतबार मेडिसिटी पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले उनको अवस्था पहिलेभन्दा निकै राम्रो र सुधारोन्मुख रहेको जानकारी दिएका छन् चिकित्सकहरूको योजनाअनुसार स्वास्थ्यमा सोही गतिमा सुधार आएमा भोलि सोमबारसम्म उनलाई अस्पतालबाट डिस्चार्ज गरिने नेता दीपशिखाले बताए ।
यसअघि प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको विशेष सल्लाहअनुसार उनलाई अस्पताल भर्ना गरी उपचार प्रक्रिया अघि बढाइएको जानकारी दिएका थिए । संक्रमणको जोखिम र आरामको आवश्यकतालाई मध्यनजर गर्दै चिकित्सकहरूले अहिले प्रचण्डसँगको भेटघाटमा पूर्ण रूपमा रोक लगाएका छन्।
अस्वस्थताकै कारण संयोजक प्रचण्ड जेठ १५ गते टुँडिखेलमा भव्य रूपमा आयोजित गणतन्त्र दिवस मूल समारोह र सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरिएको नयाँ आर्थिक वर्षको बजेट अधिवेशन दुवैमा सहभागी हुन सकेका थिएनन्।