काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय गरेपछि पूर्वऊर्जामन्त्री कुलमान घिसिङले असन्तुष्टि जनाएका छन् ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत ल्याएको यो व्यवस्थाप्रति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
पूर्वऊर्जामन्त्री घिसिङले सरकारको यो कदम आम उपभोक्ताको हितविपरीत हुनुका साथै ऊर्जा रूपान्तरणको लक्ष्य र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको टिप्पणी गरेका छन् ।
नेपालमा विद्युतको पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा यसको प्रयोग बढ्दै गएको अवस्थामा खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु काममा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको उनको आरोप छ।