काठमाडौँ । नेकपा एमालेका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ५ गतेको बैठकमा पेस गरेको नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्तावलाई आजको बैठकबाट परिमार्जनसहित अनुमोदन गर्ने तयारी गरिएको छ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११:३० बजे अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने तय भएको छ।
अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने विषय समेटिएको छ। सचिवालय बैठकमा सो प्रस्तावमाथि विस्तृत छलफल गरी कार्यविभाजनलाई अन्तिम रूप दिइने र त्यसलाई तत्कालै अन्तरपार्टी निर्देशन (अपानि) मार्फत तल्ला कमिटी र नेताहरू समक्ष पठाइने पार्टी स्रोतले जनाएको छ।
गत मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न भएको एमालेको ११ औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो। त्यसबेला फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गरेर काम गर्नका लागि केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई जिम्मेवारी तोकिएको थियो भने यस पटक स्थायी रूपमा कार्यविभाजन गर्न लागिएको हो