ललितपुर । नेपालमा क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सुरक्षाप्रतिको बढ्दो चासोका बीच ‘अमेजन वेब सर्विसेज (एडब्लुएस) कम्युनिटी डे नेपाल २०२६’ को तेस्रो संस्करण सम्पन्न भएको छ।
एडब्लुएस युजर ग्रुप नेपालद्वारा ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित यस विशेष सम्मेलनमा देशभरका ५०० भन्दा बढी डेभलपर, इन्जिनियर, आर्किटेक्ट, स्टार्टअप संस्थापक, संस्थागत नेतृत्वकर्ता तथा प्रविधि व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपालकै सबैभन्दा ठूलो समुदाय–आधारित प्रविधि सम्मेलनहरूमध्ये एक मानिएको यस कार्यक्रममा क्लाउड पूर्वाधार, साइबर सुरक्षा, एआई प्रणाली, प्लेटफर्म इन्जिनियरिङ तथा आधुनिक डिजिटल रूपान्तरणका विविध आयाममा आधारित १५ भन्दा बढी प्राविधिक सेसन, कीनोट प्रस्तुति र नेतृत्व संवादहरू सञ्चालन गरिएका थिए।
कार्यक्रमको उद्घाटन गर्दै एडब्लुएस युजर ग्रुप नेपालका लिडर एवं जेनेस सोलुसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अन्जानी फुयाँलले नेपालको डिजिटल भविष्यलाई सशक्त बनाउन समुदायमार्फत हुने सिकाइ र सहकार्यको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताए ।
यूके तथा आयरल्याण्ड क्षेत्रमा शीर्ष एडब्लुएस एम्बेसेडरका रूपमा परिचित फुयाँलले सञ्चालन गरेको मुख्य प्यानल छलफलमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष राजेन्द्र खेतान, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान सहभागी भएका हुन ।
उक्त विशेष विमर्शमा नेपाली वित्तीय संस्था, उद्यम तथा प्रविधि नेतृत्वकर्ताहरूले क्लाउड प्रविधि अपनाउने तयारी, एआई रणनीति तथा साइबर सुरक्षा सुदृढीकरणलाई कसरी अघि बढाइरहेका छन् भन्ने विषयमा सघन विचार आदानप्रदान गरिएको थियो।
सम्मेलनमा एडब्लुएस इन्डियाका अन्तर्राष्ट्रिय प्रविधि विज्ञहरू चनप्रित सिंह, अमित कुमार र जतिन मेहरोत्राले व्यावहारिक एआई प्रयोग, भरपर्दो क्लाउड पूर्वाधार र आधुनिक क्लाउड–नेटिभ एप्लिकेसन निर्माणबारे आफ्नो महत्वपूर्ण प्रस्तुति दिए ।
कार्यक्रममा क्लाउड एन्ड प्लेटफर्म इन्जिनियरिङ, साइबर सुरक्षा तथा मेसिन लर्निङ जस्ता तीनवटा प्राविधिक ट्र्याक सञ्चालन गरिएको थियो, जहाँ मोहम्मद मिजानुर रहमान, पुरु तुलाधर र नारायण कोइरालालगायतका वक्ताहरूले उद्यम–स्तरका डिजिटल प्लेटफर्मसम्बन्धी आफ्नो व्यावहारिक अनुभव र दृष्टिकोण साझा प्रस्तुत गरेका थिए ।
नेपालभर करिब ३ हजार सदस्य रहेको एडब्लुएस युजर ग्रुप नेपालका अनुसार, यस कार्यक्रममा देखिएको उत्साहले नेपाल विश्वव्यापी क्लाउड कम्प्युटिङ र एआईको नवप्रवर्तनसँग तीव्र रूपमा जोडिँदै गएको संकेत गरेको जनाइएको छ।