काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले अनुसन्धानका लागि उनीहरूलाई थप दुई दिन हिरासतमा राख्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार उक्त म्याद चैत १९ गतेदेखि लागू हुने गरी थप गरिएको छ। रमेश लेखकको बयान प्रक्रिया सम्पन्न भइसकेको छ भने केपी शर्मा ओलीको बयान लिने कार्य अझै जारी रहेको अदालतले जनाएको छ। आदेशमा ओलीको बयान सक्ने लगायतका बाँकी अनुसन्धान कार्य पूरा गर्न हिरासत अवधि थप आवश्यक देखिएको उल्लेख गरिएको छ। यसअघि आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दुवै जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो, जसको म्याद बुधबार सकिएको थियो। अदालतको आदेशमा ओलीले म्याद थपका क्रममा श्रव्यदृश्य माध्यममार्फत आफ्नो स्वास्थ्य अवस्था जटिल रहेको जानकारी गराएको उल्लेख छ। साथै, बयान सकिएपछि स्वास्थ्य उपचारमा असर नपर्ने गरी अनुसन्धान प्रक्रिया अघि बढाउन पनि अदालतले निर्देशन दिएको छ।
भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगले दुवै जनामाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको थियो। ती दफाअनुसार लापरबाही वा हेलचेक्र्याइँका कारण ज्यान जाने घटनामा कानुनी कारबाहीको व्यवस्था रहेको छ। कानुनी प्रावधानअनुसार लापरबाहीपूर्वक काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यस्तै, हेलचेक्र्याइँका कारण ज्यान गएको ठहरिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। सरकारले जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि दुवै जनालाई पक्राउ गरिएको हो। निर्णयपछि भोलिपल्ट बिहान ओलीलाई पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको थियो भने सोही दिनअघि नै रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो।