काठमाडौं । नेपालमा भोलि मंगलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो ।
चन्द्रोदयसँगै सुरु हुने उक्त ग्रहण राति ७:०२ बजेसम्म रहनेछ । मौसम अनुकूल भए देशका सबै भागबाट स्पष्ट रूपमा देख्न सकिने सोसाइटीले जनाएको छ । चन्द्रग्रहण अवलोकन गर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नै प्रकाश नभएकाले पृथ्वीको छायाँले चन्द्रमा ढाकिँदा चन्द्रग्रहण हुन्छ ।
पूर्णिमामा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधामा परे पनि चन्द्रमाको कक्ष पृथ्वीको कक्षीय धरातलसँग करिब पाँच डिग्री झुकेको हुने भएकाले हरेक पूर्णिमामा चन्द्रग्रहण हुँदैन ।