काठमाडौँ । सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को तेस्रो त्रैमासिकमा आफ्ना मापदण्डविपरीत नेपालबाट प्रेषित २८ लाख भिडिओ हटाइएको जनाएको छ।
उक्त कम्पनीले बिहीवार सार्वजनिक गर्न लागेको पछिल्लो त्रैमासिक रिपोर्टअनुसार सन् २०२५ को जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा सो सङ्ख्यामा नेपालका भिडिओहरू हटाइएको हो। जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा हटाइएका भिडिओहरूमध्ये 'प्रोएक्टिभ रिमुभल रेट' ९९.७ प्रतिशत र 'रिमुभल रेट विथइन ट्वेन्टी फोर आवर्स' ९८ प्रतिशत रहेको त्रैमासिक प्रतिवेदनमा उल्लेख छ।
नेपालमा ठूलो राजनीतिक उथलपुथल निम्त्याएको जेन जी आन्दोलन पनि सेप्टेम्बर महिनामै भएको थियो। त्यस बेला मिथ्या र भ्रामक सामग्री झन् बढी देखिएको हालै विज्ञहरूले बताउने गरेका छन्। टिकटकले सो अवधिमा हटाएका कैयौँ भिडिओ सो आन्दोलनसँग कुनै न कुनै रूपमा सम्बन्धित भएको हुन सक्ने ठानिएको छ।
टिकटकले हटाउने गरेका उसको मापदण्डविपरीतका भिडिओहरूको सङ्ख्या नेपालमा बढ्दै गएको ताजा तथ्याङ्कले देखाउँछ। सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा उक्त सामाजिक सञ्जालले नेपालमा करिब ३२ प्रतिशत बढी भिडिओहरू हटाएको तथ्याङ्क छ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकका अनुसार मापदण्डविपरीतका अधिकांश भिडिओहरू 'अटोमेटेड डिटेक्शन सिस्टम्स' मार्फत् हटाइने गरिएको छ। त्यसरी हटाउने गरिएकामध्ये कतिपय भिडिओहरू मानवले समीक्षा गर्दा मापदण्डविपरीत नभएको पाइएमा पुनः तिनलाई राखिदिने गरिन्छ। संवेदनशील तथा वयस्क प्रकृतिका सामग्री, गोपनीयता तथा सुरक्षा मापदण्डविपरीतका सामग्री, सुरक्षा तथा शिष्टताविपरीतका सामग्री, मानसिक तथा व्यवहारगत स्वास्थ्यविपरीतका सामग्री, मिथ्या सूचना र सम्पादित अथवा एआईबाट सिर्जित सामग्री भएका भिडिओहरू हटाउने गरिएको उसको वेबसाइटमा उल्लेख छ।