काठमाडौँ । लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
विशेष अदालतले भ्रष्टाचार मुद्दामा थुनामा पठाउने दिएको आदेश बदर गर्न माग गर्दै दिएको गुप्ताको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
यसअघि गुप्ताको निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीको ७३ नम्बरको निवेदन परे नपरेको बुझ्न आदेश भएको थियो ।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।