काठमाडौँ । आइतबार उपचारका क्रममा मृत्यु भएका दिनेश सिटौलाको शरीरमा कुनै खाले चोटपटक नभेटिएको प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका सिटौलालाई काठमाडौंको ग्रान्डी अस्पतालले आइतबार मृत घोषित गरेको थियो ।
अछाममा शुक्रबार अचेत भएपछि स्थानीय अस्पतालमा प्राथमिक उपचार गरी सिटौलालाई हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । सिटौलाको पोस्टमार्टम रिपोर्टमा त्यस्तो शंकास्पद केही नभएको र शरीरका कुनै पनि भागमा चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।
सिटौलाको शवको पोस्टमार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा गरिएको थियो । त्यसअघि ग्रान्डी अस्पतालले सिटौलाको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको जनाएको थियो । सिटौलाको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि भइसकेको छ ।