सप्तरी क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। रास्वपाका बोदेबरसाइन नगर संयोजक राजु यादवका अनुसार साहले शुक्रबार बिहान १० बजे कल्याणपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिनेछन्।
यादवका अनुसार साहले अब रास्वपाका आधिकारिक उम्मेदवार सिताराम साहलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। पार्टीभित्रको सहमति र आपसी समझदारीका आधारमा उनले यस्तो निर्णय लिएको बताइएको छ।
उक्त निर्णय बोदेबरसाइन नगरपालिका–५ स्थित धर्मशालामा आयोजित छलफलपछि गरिएको हो। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी का नेता दयानन्द गोइत, प्रतिनिधिसभा उम्मेदवार सिताराम साह, ननु भगतलगायत पार्टीका स्थानीय नेताहरूको सहभागिता रहेको थियो।
पार्टी एकता मजबुत बनाउने र चुनावी रणनीतिलाई प्रभावकारी बनाउने उद्देश्यले साहले उम्मेदवारी फिर्ता लिएको र अब पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय भूमिका खेल्ने सहमति भएको जनाइएको छ।