काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ। निर्वाचन अधिकृतको कार्यालय गौरमा पुगेर रौतहट क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम नरेश यादवले नेपालविरुद्ध उजुरी दिएका हुन् ।
पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भइ निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएकाले उनको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित उजुरी दर्ता गराइएको उम्मेदवार यादवले बताएका छन्।
यसैबिच नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ । यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो ।
यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुन: आदेश गर्यो । आज (बुधबार) फाइलहरू आएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ ।