काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरूको घर जलाउनेहरूविरुद्ध वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोखेका छन्। गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै उनले भने, “अहिलेको सरकार सायद उनीहरूकै सरकार हो। त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ।”
ओलीले अपराधलाई प्रोत्साहन गर्न नहुने र देशलाई शान्तिपूर्ण बस्न लायक बनाउनु पर्ने धारणा व्यक्त गर्दै भने, “आन्दोलनको नाममा कसैको घर जलाउन पाइँदैन। त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो, तर कारबाही भएको छैन। समय आउँछ, कारबाही गर्ने समय आउँछ। देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ।”