काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ। विगतमा अर्थतन्त्रको ढुकुटी सम्हालिसकेका आधा दर्जनभन्दा बढी पूर्वअर्थमन्त्रीहरु आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसअघि अर्थमन्त्री हुँदै प्रधानमन्त्री बनेका बाबुराम भट्टराई, पाँच पटक अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, दुई पटक अर्थमन्त्री बनेका वर्षमान पुन र जनार्दन शर्मा, एक/एक पटक अर्थमन्त्री बनेका प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलगायत आधा दर्जन पूर्वअर्थमन्त्रीहरु २१ फागुनको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हुन् । यी पूर्वअर्थमन्त्रीहरुले मुलुकको आर्थिक नीति निर्माणमा गरेको अनुभवलाई मतदातामाझ प्रमुख एजेन्डा बनाउँदै आ–आफ्नो पकड मानिएको निर्वाचन क्षेत्रबाटै उम्मेदवारी दर्ता गराएका बताएका हुन् ।
बाबुराम भट्टराई
यसअघि चुनाव नउठ्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ बाट उम्मेदवारी दिएका छन् । यो उनको पुरानै निर्वाचन क्षेत्र हो । अघिल्लो निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि आफ्नो निर्वाचन क्षेत्र छोडिदिएका थिए । यसपटक भने आफै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । अर्थमन्त्री हुँदा भट्टराईले खासगरी राजस्व संकलनमा उल्लेखनीय काम गरेका थिए ।
वर्षमान पुन
पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर प्रतिस्पर्धा गरेको थियो । दुवै गठबन्धबाट पुन विजयी भएका थिए । २०७९ मा कांग्रेससँगको चुनावी तालमेलमा पुन ४१ हजार ७ सय १४ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत ल्याएका थिए । २०७३ मा निर्वाचन क्षेत्र पुनःसंरचनापछि रोल्पा एक मात्र निर्वाचन क्षेत्र बनेको थियो । त्यसपछि पुन निर्वाचित हुँदै आएका छन् । पूर्वअर्थमन्त्री पुनले यस पटक पनि रोल्पामा नेकपाबाट उम्मेदवारी दर्ता गराएका हुन् । पुन बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समयमा गरी दुई पटक अर्थमन्त्री बनेका थिए ।
जनार्दन शर्मा
अर्का पूर्व अर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टिएका शर्मा रुकुम पश्चिमबाटै चारपटक निर्वाचित भइसकेका छन् । अर्थमन्त्री रहँदा बजेट निर्माण प्रक्रियामा प्रश्न उठेपछि विवादित पनि बनेका थिए । शर्मा ऊर्जामन्त्री हुँदै दुई पटक अर्थमन्त्री बनेका थिए ।
विष्णु पौडेल
यस्तै, पूर्वअर्थमन्त्री विष्णु पौडेलले रूपन्देही–२ बाटै उम्मेदवारी दर्ता गराएका छन् । केही दिनअघिसम्म पाल्पा–२ बाट उम्मेदवारी दिने तयारी रहे पनि अन्ततः रुपन्देही–२ बाटै उम्मेदवारी दिएका हुन् । एमालेबाट लगातार ४ वटा निर्वाचन पौडेलले रूपन्देही–२ बाट जित्दै आएका छन् । पौडेल २०६४, २०७०, २०७४ र ०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । अहिले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेल पटकपटक गरी पाँच पटक अर्थमन्त्री भइसकेका छन् । खासगरी निजी क्षेत्रमैत्री अर्थमन्त्रीका रुपमा उनी चिनिन्छन् । रूपन्देही–२ का लागि अहिलेसम्म कांग्रेसबाट चुन्नप्रसाद पौडेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे, राप्रपाबाट कर्भिका थापा, प्रलोपाबाट नारायण नागिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए ।
प्रकाशशरण महत
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले पनि नुवाकोट–१ बाट उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र र कांग्रेसको गठबन्धनमा बनेको सरकारका उनी अर्थमन्त्री थिए । त्यतिबेला उनी समानुपातिक सूचीबाट सांसद बनेका थिए ।
ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी–४ मा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७९ को निर्वाचनमा कार्की यही क्षेत्रबाट विजयी भएका थिए । यसअघि अर्थमन्त्री र सञ्चारमन्त्रीसमेत रहेका कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी भएका थिए । यस्तै, निर्वाचनका प्रत्यासी रहे पनि एमालेबाट टिकट नपाएपछि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भने आसन्न निर्वाचनमा प्रतिस्पर्धी बन्न पाएनन् । यसअघि २०७९ को निर्वाचमा पाण्डेले रास्वपाका हरि ढकालसँग चितवन क्षेत्र–१ बाट पराजित भएका छन् ।