धादिङ । अभियन्ता आसिका तामाङले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेकी छन्।
आफू यही माटोमा जन्मेर हुर्किएको र संघर्ष, पसिना र अभावको जीवनसँग प्रत्यक्ष परिचित भएकाले उनले बोल्न होइन, काम गर्न अघि बढेको बताइन्। उनले सडकका पीडा सदनसम्म पुर्याउने होइन, त्यहाँकै समाधान गर्ने साहस लिएर निर्वाचन मैदानमा उत्रेको पनि जनाइन्।
आसिकाले आम जनतालाई सम्बोधन गर्दै लेखिन— “यो चुनाव केवल भोटको होइन, आफ्नै छोरीलाई विश्वास गर्ने निर्णय हो। न्याय, इमान र कर्मको बाटोमा हजुरहरूको एक भोटको अपेक्षा गर्छु।”
उनले लेखेकी छन्, ‘‘यही माटोमा जन्मेकी हुर्केकी, यही माटोको ऋण चुक्ता गर्न अघि बढेकी भोटे काइलाकी छोरी आसिका तामाङ । संघर्ष, पसिना र अभावमै हुर्किएको जीवनले मलाई बोल्न होइन, काम गर्न सिकायो।"
उनको उम्मेदवारी स्थानीय तहमा उठेका जनजीवन र विकासका प्रश्नसँग जोडिएको भएको र उनले सकारात्मक काम र जनताप्रति प्रतिवद्धता देखाउने आश्वासन दिएकी छन्।