काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तन भएपछि सुदूरपश्चिममा शेरबहादुर देउवापक्ष कमजोर देखिएको छ। १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले जम्मा ५ ठाउँमा मात्रै टिकट पाएको छ भने बाँकी ११ क्षेत्रमा सभापति गगन थापानिकट नेताहरूले टिकट पाएका छन्।
देउवाका विश्वासपात्र मानिने एनपी साउद, नैनसिंह महर, पुष्पबहादुर शाह, नरनारायण शाह र गोरखबहादुर विष्टले मात्रै टिकट पाएका छन्। तर देउवानिकट मानिने पूर्वगृहमन्त्री रमेश लेखक भने कञ्चनपुर–३ बाट टिकट पाउन सकेनन्। उनको ठाउँमा सभापति थापाले विशेष महाधिवेशनको पक्षमा खुलेका हरिप्रसाद शर्मालाई उम्मेदवार बनाएका छन्।
कैलाली–४ मा संसदीय बोर्डले टिकट दिए पनि प्रदेश सभापति वीरबहादुर बलायरले चुनाव नलड्ने बताएपछि अन्तिममा देउवानिकट गोरखबहादुर विष्टलाई उम्मेदवार बनाइएको हो। उनी अमेरिकास्थित जनसम्पर्क समितिका सभापति हुन्।
कैलाली–५ मा आरजु राणा देउवाको नाम सिफारिस भए पनि टिकट भने प्रदेश महामन्त्री नरनारायण शाहले पाए। यस्तै, डडेल्धुरामा शेरबहादुर देउवाले उम्मेदवार नबन्ने बताएपछि नैनसिंह महरलाई टिकट दिइएको छ।
समग्रमा हेर्दा, सुदूरपश्चिममा यसपटक कांग्रेसको टिकट वितरणमा गगन थापा पक्ष हाबी भएको देखिन्छ भने देउवा पक्ष उल्लेख्य रूपमा खुम्चिएको छ।