काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुनै लाग्दा नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादवले पार्टी परिवर्तन गर्दै नेकपा एमालेबाट उम्मेदवारी दिएका छन्।
मंगलबार बिहानसम्म उनी रुपन्देही निर्वाचन क्षेत्र नम्बर–४ बाट कांग्रेसको उम्मेदवार बन्ने तयारीमा थिए। तर अन्तिम समयमा कांग्रेसले उनलाई टिकट नदिई आशुतोष मिश्रलाई उम्मेदवार बनाएपछि यादवले एमाले रोजेका हुन्।
नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार पार्टी प्रवेश गरेलगत्तै यादवलाई एमालेको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरिएको हो।
यसअघि सो क्षेत्रमा एमालेबाट सुनिता ठटेर र हजरत अलीको नाम उम्मेदवारका रूपमा चर्चामा थियो। ठटेर उम्मेदवारीप्रति इच्छुक नदेखिएपछि अलीलाई उम्मेदवार बनाउने तयारी भइरहेको थियो। तर अन्तिम क्षणमा यादव एमाले प्रवेश गरेपछि पार्टीले रणनीति परिवर्तन गर्दै उनलाई उम्मेदवार बनाएको हो।
यादव २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए।
एमाले नेताहरूका अनुसार रुपन्देहीका अन्य क्षेत्रको तुलनामा क्षेत्र नम्बर–४ मा संगठन कमजोर रहेकाले यादवको आगमनले पार्टीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
एमालेबाट उम्मेदवारी दिएपछि यादवले कांग्रेसको निर्णयप्रति असन्तुष्टि जनाए।
उनले भने, “मंगलबार बिहानसम्म टिकट पाउने लगभग तय जस्तै थियो। तर अचानक निर्णय फेरिएपछि आफू अपमानित भएको महसुस भयो। यस्तो अवस्थामा पार्टीमै बसिरहन सकिन र वैकल्पिक बाटो रोज्नुपर्यो।”