झापा - नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको जिम्मेवारीबाट राजीनामा दिँदै झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन्।
रास्वपा बाट बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने भएपछि झापा–५ को चुनावी वातावरणमा चर्चा चुलिएको छ। प्रसाईंले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
प्रसाईंले भने, “म प्रकाश प्रसाईं, आज मिति २०८२ माघ ६ गतेदेखि नेपाली कांग्रेस दमक नगर सभापतिको पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गर्ने औपचारिक घोषणा गर्दछु। अब मेरो यात्रा पद, कुर्सी वा झन्डाको होइन, परिवर्तनको हो।”
उनी आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट बालेन शाहलाई विजयको शुभकामना दिँदै आफ्ना तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। यसबारे दमक नगरपालिकामा उपमेयर समेत रहेकी प्रकाशकी पत्नी रेगिना भट्टराईसँग पनि कुरा गरिएको थियो। भट्टराई कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा उपमेयर बनेकी थिइन्।