काठमाडौँ । निर्वाचन सम्पन्न गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार जना मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनीहरूले मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन्।
अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन निर्वाचनमा उम्मेदवार बनेका छन्।
यसअघि नै उनीहरूले दलीय राजनीतिको मैदानमा प्रवेश गर्नुअघि मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
ऊर्जा मन्त्री घिसिङ हाल उज्यालो नेपाल पार्टीका अध्यक्ष हुन्। उनी यसअघि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा परिचित थिए। उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनेका छन्।
युवा तथा खेलकुद मन्त्री गुप्ता जेनजी आन्दोलनका अगुवा तथा सामाजिक अभियन्ताका रूपमा चिनिन्छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिने जानकारी दिएका छन्।
पूर्व सञ्चार मन्त्री खरेल भने दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए। मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले मंगलबार उनलाई पार्टी आबद्धताको प्रतीक चिह्न प्रदान गरेका छन्। सो पार्टीका अनुसार खरेलले मंगलबार अपराह्न ३ बजे ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
यस्तै, पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले म्याग्दी निर्वाचन क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया जारी रहेको निर्वाचन आयोगले जनाएको छ।