सप्तरी । एकपछि अर्को निर्वाचनमा चुनौती खेप्दै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पुनः चुनावी मैदानमा उत्रिँदै छन्। यस पटक उनले अघिल्लोपटक पराजित भएको क्षेत्र छाडेर सप्तरी–३ रोजेका छन्। राजनीतिक वृत्तमा अहिले एउटै प्रश्न गुञ्जिएको छ- भागेको भाग्यै उपेन्द्र यादव ?
जसपा नेपालको सोमबार राजविराजमा सम्पन्न बैठकले अध्यक्ष यादवलाई सप्तरी-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। युवा, विद्यार्थी तथा खेलकुद विभागका प्रमुख विदेश्वर यादव (विक्की) का अनुसार पार्टीले यस पटक ‘सेफ जोन’ खोज्दै उम्मेदवारी तय गरेको हो।
२०७९ सालको निर्वाचनमा उपेन्द्र यादव सप्तरी-२ बाट उम्मेदवार बनेका थिए। तर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँगको कडा प्रतिस्पर्धामा उनी पराजित भए। त्यस हारपछि क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिनु राजनीतिक विवशता हो कि रणनीतिक चाल- त्यसबारे बहस सुरु भएको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, लगातार चुनावी झट्का खाएका यादवका लागि यो निर्वाचन राजनीतिक अस्तित्व जोगाउने अन्तिम कसरत जस्तै हो। अघिल्लो पराजयले मधेश राजनीतिमा उनको प्रभाव घट्दै गएको संकेत गरेपछि यस पटक जोखिम कम गर्न क्षेत्र फेरेको आकलन गरिएको छ।