काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका सञ्चालक ऋषि धमला रौतहट–४ मा प्रतिनिधिसभा सदस्य उमेदवार बन्ने भएका छन् ।
धमला पत्रकारिता छोडेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका हुन् । आम जनता पार्टीबाट मोबाइल चुनाव चिन्ह लिएर उनी रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट चुनाव लड्ने छन् । उनले रौतहट–४ मा स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।
पत्रकारीता छोड्दै धमलाले आफू राजनीतिमा गएको खण्डमा १० वर्षमा नेपाललाई सम्पन्न राष्ट्र बनाउने बताएका छन् । सोमबार पत्रकारहरुसँग साक्षत्कार गर्दै उनले नेपाललाई सबल र सक्षम राष्ट्र बनाउनका लागि आफूलाई १० वर्षको समय चाहिने बताएका हुन् ।
नेपाललाई सक्षम राष्ट्र बनाउने योजना र कार्यक्रम आफूसँग रहेको उनले बताए । मधेश र कर्णालीको जनताप्रति आफ्नो सबैभन्दा धेरै प्रेम रहेको पनि उनले बताए ।
‘यदि म राजनीतिमा गएँ भने १० वर्षमा नेपाललाई सम्पन्न राष्ट्र बनाउने छु । नेपाललाई सवल, सक्षम बनाउनका लागि १० वर्षको समय मलाई चाहिन्छ,’ उनले भने ।
उनले आफू मन्त्री र प्रधानमन्त्री बन्न राजनीतिमा नजाने पनि बताए । समाज सेवा गर्न राजनीतिमा जान लागेको उनले बताए । राजनीतिमा गएपछि सञ्चारकर्ममा नफर्किने पनि उनले बताए । ‘म राजनीतिमा गएपछि सञ्चारकर्ममा फर्किन्नँ,’–उनले भने ।