काठमाडौं – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले पर्सा जिल्लामा उम्मेदवार छनोट प्रक्रिया लगभग टुङ्गो लगाएको छ।
पार्टीको आन्तरिक छलफलअनुसार पर्सा–१ बाट अनिल रुङ्गटा, पर्सा–२ बाट अजय चौरसिया र पर्सा–४ बाट रमेश रिजालले टिकट पाउने लगभग निश्चित भएको छ।
अनिल रुङ्गटा, अजय चौरसिया र रमेश रिजालले पार्टी भित्रको प्रक्रियासँगै क्षेत्रीय प्रतिक्रिया र स्थानीय नेताहरूसँगको परामर्शपछि टिकट पाउने निर्णय भएको हो। यससँगै उनीहरूले चुनावी तयारी सुरु गर्ने तयारी गरिरहेका छन्।
तर पर्सा–३ बाट सुरेन्द्र चौधरीको टिकट अझै अन्तिम निर्णयको पर्खाइमा छ। पार्टी भित्रको छलफल र क्षेत्रीय प्रतिक्रिया अनुसार उनको उम्मेदवारी टुङ्गो लाग्ने बताइएको छ।
काठमाडौंको होटल पाबेरीमा जारी पार्टी बैठकमा टिकट टुङ्गो लगाउने प्रक्रिया भईरहेको छ। काँग्रेसले छिट्टै सबै क्षेत्रका उम्मेदवारको अन्तिम घोषणा गर्ने तयारी गरेको छ। आधिकारिक रुपमा मगंलवार टिकट हस्तान्तरण हुने काँग्रेसनिकट श्रोतले जानकारी दिएको छ।
पर्सा जिल्लामा काँग्रेसले उम्मेदवार टुङ्गो लगाएसँगै निर्वाचनमा आफ्नो रणनीति र चुनावी तयारीलाई तीव्र बनाउने तयारी गरेको छ।