काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट बाँडफाँडलाई लिएर काठमाडौं क्षेत्र नम्बर ५ मा विवाद देखिएको छ। सो क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा रहेका रास्वपा नेता डा. प्रणय राणाले पार्टी निर्णयप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपाले काठमाडौं-५ बाट सस्मित पोखरेललाई उम्मेदवार बनाएपछि राणाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्। उनले पार्टीको आन्तरिक निर्णयप्रक्रियामाथि व्यङ्ग्य गर्दै “नयाँ आयो, प्राइमरी ल्यायो, संगठन गरौंला, उम्मेदवार छानौला… धत्त मुर्ख (दास) हो, म त टिकट बाँडौंला” भन्ने अभिव्यक्ति सार्वजनिक गरेका छन्।
डा. राणाले आफू सक्षम र योग्य उम्मेदवार हुँदाहुँदै पनि अन्तिम समयमा टिकटबाट वञ्चित हुनुपरेको बताएका छन्। टिकटको अपेक्षामा उनले सामाजिक सञ्जालमार्फत भोट माग्नसमेत सुरु गरिसकेका थिए।
रास्वपाले यसअघि पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउने भन्दै उम्मेदवार छनोटका लागि ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्ने घोषणा गरेको थियो। समानुपातिक उम्मेदवार चयनका क्रममा प्राइमरी इलेक्सन गराइए पनि बढी मत ल्याएका आकांक्षीहरू अन्तिम सूचीमा तलमाथि परेको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको थियो।
यसपटक प्रत्यक्षतर्फ उम्मेदवार छान्दा पनि रास्वपाले आकांक्षीहरूबाट गुगल फाराममार्फत आवेदन संकलन गरेको थियो। तर अन्तिम निर्णय सचिवालय तहको छलफलबाट गरिएको भन्दै पार्टीभित्रैबाट प्रश्न उठ्न थालेका छन्।
के हो प्राईमरी ईलेक्सन ?
प्राइमरी इलेक्सन भनेको कुनै राजनीतिक दलले आम निर्वाचनका लागि उम्मेदवार तय गर्न पार्टीभित्र सञ्चालन गर्ने आन्तरिक मतदान प्रक्रिया हो। यस प्रक्रियामा पार्टीका सदस्य, समर्थक वा दर्ता मतदाताले भोट हालेर कुन व्यक्तिलाई टिकट दिने भन्ने निर्णय गरिन्छ।
यसको उद्देश्य उम्मेदवार छनोटलाई पारदर्शी बनाउने, नेतृत्वको एकल निर्णयलाई सीमित गर्ने र लोकप्रिय तथा योग्य उम्मेदवारलाई अघि ल्याउने हो। प्राइमरी इलेक्सनबाट धेरै मत ल्याउने व्यक्तिलाई पार्टीको आधिकारिक उम्मेदवार बनाउने अभ्यास गरिन्छ।
हाल केही दलहरूले उम्मेदवार छनोटमा प्राइमरी इलेक्सन गरिरहेका छन् ।