काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग सदस्य भीमबहादुर तामाङले पार्टीबाट राजीनामा दिएका छन्।
आज बागमती प्रदेश कार्यसमितिलाई सम्बोधन गर्दै तामाङले पार्टीको सदस्यता तथा जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन्।
राजीनामा पत्रमा उनले पार्टी स्थापना कालदेखि निरन्तर रूपमा वडा, पालिका, जिल्ला हुँदै प्रदेश तहसम्म पार्टी निर्माणमा योगदान दिएको उल्लेख गरेका छन्। पार्टीको विधि र पद्धतिलाई आत्मसात गर्दै इमान्दारीपूर्वक काम गरेको भए पनि पछिल्लो समय पार्टीभित्र मनोनयन ढंग, निषेध र न्यूनतम मापदण्ड नअपनाई उम्मेदवार घोषणा गरिएकोप्रति असहमति जनाउँदै राजीनामा दिन बाध्य भएको बताएका छन्।
तामाङले उक्त प्रक्रियाले समर्पित कार्यकर्ताको अपमान भएको महसुस भएको उल्लेख गर्दै, यस्तो अवस्थामा पार्टीको नाममा राजनीतिक गतिविधि अगाडि बढाउन नसक्ने निष्कर्षमा पुगेको बताएका छन्। उनले यस विषयमा यसअघि पटक–पटक पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको तर सम्बोधन नभएको दाबी गरेका छन्।
राजीनामा पत्रमा उनले, पार्टी विधि र विधानभन्दा बाहिर जाने अवस्था आएमा त्यही दिन आफ्नो राजनीतिक यात्रा समाप्त हुने चेतावनी यसअघि नै दिएको उल्लेख गर्दै, अहिले त्यही परिस्थिति सिर्जना भएकाले राजीनामा दिएको स्पष्ट पारेका छन्।
तामाङले आफ्नो निर्णयलाई गलत ढंगले व्याख्या नगर्न आग्रह गर्दै, देशप्रतिको सम्मान सधैं रहने र गलत पात्र तथा प्रवृत्तिप्रति सधैं घृणा रहने उल्लेख गरेका छन्।