काठमाडौँ । नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता भएको भन्ने समाचारहरू पूर्ण रूपमा असत्य भएको स्पष्ट पारेका छन्।
खड्काले सामाजिक सञ्जालमार्फत सार्वजनिक स्पष्टिकरण दिँदै २०८२ माघ २ गते कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय अवैधानिक रहेको भन्दै २०८२ माघ ४ गते सर्वोच्च अदालतमा न्याय प्राप्तिका लागि रिट दर्ता गरिएको जानकारी दिएका छन्। उक्त रिट फिर्ता हुने भन्ने समाचार गलत भएको उनको भनाइ छ।
उनले यो विषय संवेदनशील रहेको उल्लेख गर्दै आफूसँग प्रत्यक्ष सम्पर्क नगरी अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यमलाई विशेष आग्रहसमेत गरेका छन्।
खड्काले सार्वजनिक भएका भ्रामक समाचारले भ्रम सिर्जना गरेको भन्दै यथार्थ तथ्यका आधारमा मात्र समाचार प्रकाशन गर्न आग्रह गरेका छन्।