दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टिकट बाँडफाँडलाई लिएर दाङ क्षेत्र नम्बर २ मा विवाद उत्पन्न भएको छ। स्थानीय नेताहरूले भूगोलमा काम गरेका नेताहरूलाई छोडेर केन्द्रमा रहेका नेतालाई टिकट दिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपाका स्थानीय नेताहरूले सहमहामन्त्री विपिनकुमार आचार्यले टिकट पाएकोपछि हस्ताक्षर अभियान समेत चलाएका छन्। उनीहरूले पार्टीको उम्मेदवार सिफारिस समितिलाई पत्र पठाउँदै, दाङ–२ बाट सही, सक्षम र भुइँतहमा काम गर्ने उम्मेदवार उठाउनुपर्ने माग गरेका छन्।
आचार्य यसअघि समानुपातिक सूचीमा रहेका थिए। पार्टी पदाधिकारी र छनोट समितिमा आलोचना भएपछि उनी समानुपातिकबाट पछि हटेका थिए। त्यसपछि काठमाडौं–२ बाट उम्मेदवार बन्ने चर्चा चलेको थियो, तर सोमबार अचानक दाङ–२ को टिकट उनीलाई दिइएपछि स्थानीय नेताहरू असन्तुष्ट बनेका हुन्।
पत्रमा उल्लेख छ कि फागुन २१ मा हुने संघीय संसद निर्वाचनमा दाङ–२ मा प्राइमरी इलेक्सन नभएको हुनाले, जनताले चिनेका र जित्ने सम्भावना भएका उम्मेदवार चयन गर्नुपर्ने माग गरिएको छ।
यसअघि एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गरेका उम्मेदवार ई. विशाल अधिकारीलाई अघि सार्न पनि स्थानीय नेताहरूले जोड दिएका छन्। अधिकारीले अघिल्लो संघीय निर्वाचनमा घण्टी चुनाव चिह्नमा १५ हजार ८६१ मत प्राप्त गरेका थिए। पत्रमा चेतावनी दिइएको छ कि “अन्तिम समयमा जनताले नचिनेका नयाँ व्यक्ति उम्मेदवार बनेर आउँदा निर्वाचन हार्ने जोखिम देखिएको” भन्दै उम्मेदवार छनोट समितिलाई सचेत गराइएको छ।