रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न मंगलबार रुकुमपूर्व पुगेका उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
प्रचण्डले जनयुद्धकालमा आफू बसेको ऐतिहासिक घर र २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’लाई स्मरण गर्दै शान्ति प्रक्रियाका महत्वपूर्ण निर्णय यहीँबाट भएको बताए। सोही राजनीतिक आधारभूमिबाट चुनाव जितेर रुकुमपूर्वको समग्र विकासलाई गति दिने दाबी पनि उनले गरे।
रुकुमपूर्व पुगेलगत्तै प्रचण्ड चुनावी तयारीमा जुटेका छन्। उनले जिल्लाका शीर्ष नेता तथा कार्यकर्तासँग छलफल र परामर्शलाई तीव्र बनाएका छन्।
३४ हजार ७७२ मतदाता रहेको रुकुमपूर्वमा २०७९ को आम निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए। त्यसबेला माओवादी कांग्रेससँग गठबन्धनमा चुनाव लडेको थियो।
यसअघि २०६४ र २०७० को संविधानसभासहित प्रत्येक आम निर्वाचनमा उम्मेदवार बन्दै आएका प्रचण्डले फरक–फरक निर्वाचन क्षेत्र रोज्ने गरेका छन्। २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका उनी यसपटक माओवादीको राजनीतिक आधारभूमि मानिने रुकुमपूर्वबाट चुनावी मैदानमा उत्रिएका हुन्।