रूकुम पूर्व - नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि रूकुम पूर्वबाट निवर्तमान सांसद कुसुम थापा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। २१ फागुनमा हुने निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ थापालाई अघि सार्दै स्पष्ट राजनीतिक सन्देश दिएको छ, जसलाई सामान्य उम्मेदवारीभन्दा बढी प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ।
यसै निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रतिस्पर्धामा उत्रिने भएपछि रूकुम पूर्वको चुनाव राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ। कांग्रेसले अनुभवी नेतृलाई उम्मेदवार बनाउनु प्रचण्डविरुद्धको रणनीतिक कदमका रूपमा विश्लेषण गरिएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रूकुम पूर्वबाट तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तिमगर विजयी भएका थिए। कांग्रेस र एकीकृत समाजवादीसँगको चुनावी तालमेलमा लडेका उनले १२ हजार २६२ मत पाएका थिए भने एमालेका कैलाशकुमार मल्ल ५ हजार २११ मतसहित दोस्रो र स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्री ८९६ मतसहित तेस्रो भएका थिए।
अबको उपनिर्वाचनमा अघिल्लो निर्वाचनको समीकरण परिवर्तन भएको छ। कुसुम थापा मगरको उम्मेदवारीमार्फत कांग्रेसले आफ्नो संगठनात्मक शक्ति एक्लै परीक्षण गर्न खोजेको संकेत देखिएको छ, जसले रूकुम पूर्वको राजनीतिक दिशा र परिणाममा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।