काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र शाह (बालेन)लाई आगामी प्रधानमन्त्रीको प्रमुख दाबेदारका रूपमा अघि सारेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा सिंहले बालेनलाई ‘देशको महानायक’को संज्ञा दिँदै मधेशबाट प्रधानमन्त्री बन्नुपर्ने दाबी गरे।
सिंहले भावनात्मक र उत्तेजक शैलीमा भाषण गर्दै बालेन प्रधानमन्त्री नबने आफूले गम्भीर कदम चाल्ने अभिव्यक्ति दिए। उनले मधेशको ऐतिहासिक, सांस्कृतिक पहिचानको प्रसंग जोड्दै बालेनलाई राष्ट्रिय नेतृत्वमा पुर्याउनुपर्ने तर्क अघि सारे।
कार्यक्रममा सिंहले काँधको गम्छा देखाउँदै मतदातासँग समर्थन मागे। ‘मसँग दिने केही छैन, आग्रह मात्रै छ,’ भन्दै उनले मधेशले अब नेतृत्व माग्नुपर्ने बताए। उनको भाषणमा राजनीतिक तर्कभन्दा भावनात्मक अपिल हावी देखिन्थ्यो।
राजनीतिक विश्लेषकहरूका अनुसार सिंहको यस्तो अभिव्यक्ति र शैलीले रास्वपाको अभियानलाई चर्चा त दिलाउन सक्छ, तर यसले राजनीतिक बहसलाई व्यक्तिकेन्द्रित र अतिरञ्जित दिशातर्फ धकेल्ने जोखिम पनि बोकेको छ। प्रधानमन्त्री चयन संस्था, प्रक्रिया र नीतिबाट तय हुने विषय भएकाले यस किसिमका दाबीहरूले दीर्घकालीन राजनीतिक विश्वसनीयतामा प्रश्न उठ्न सक्ने उनीहरूको मत छ।
बालेनलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने प्रयास रास्वपाको रणनीतिक सन्देशको हिस्सा हुन सक्ने भए पनि, त्यसलाई यथार्थपरक एजेन्डा र जिम्मेवार राजनीतिक संवादले साथ दिन नसके जनअपेक्षा र वास्तविकताबीच दूरी बढ्ने खतरा देखिन्छ।