काठमाडौँ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्ला क्षेत्र नम्बर–१ बाट भरत ढकाल प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारका रूपमा उनको नाम सिफारिस गरिएको हो ।
स्याङ्जा–१ बाट कांग्रेसको उम्मेदवार
नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर–१ बाट भरत ढकाललाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ । पार्टीले व्यवसायिक सफलता, सामाजिक योगदान र नेतृत्व क्षमतालाई आधार मानेर ढकाललाई अघि सारेको बताइएको छ ।
मुक्तिनाथ विकास बैंकका संस्थापक नेतृत्व
ढकाल स्याङ्जाको आँधीखोला गाउँपालिका–६, फापरथुममा जन्मिएका हुन् । उनी मुक्तिनाथ विकास बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहँदै बैंकलाई विकास बैंक क्षेत्रकै नेपाल नम्बर–१ संस्थाका रूपमा स्थापित गर्न सफल भए । पछिल्लो समय उनी सोही बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
कृषि क्षेत्रमा आर्थिक क्रान्तिको अभियान
पूर्व बैंकर्स ढकाल हाल मुक्तिनाथ कृषि कम्पनीको नेतृत्व गर्दै कृषि पेशाबाटै आर्थिक क्रान्ति र रोजगारी सिर्जना गर्न सकिने अवधारणालाई व्यवहारमा उतार्ने अभियानमा सक्रिय छन् । उक्त कम्पनीमार्फत आधुनिक कृषि, उत्पादन र बजार व्यवस्थापनमा उनले नेतृत्वदायी भूमिका खेल्दै आएका छन् ।
हजारौँलाई रोजगारी र स्वरोजगार
ढकालको नेतृत्वमा मुक्तिनाथ विकास बैंकमार्फत लघुवित्त सेवाबाट लाखौँ महिलालाई स्वरोजगार बनाइएको छ । बैंकमा झण्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने मुक्तिनाथ कृषि कम्पनीमा करिब तीन सय जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।
सामाजिक अभियन्ताको लामो अनुभव
कांग्रेसको सक्रिय राजनीतिमा प्रत्यक्ष रूपमा देखिन नदेखिए पनि ढकाल जनआन्दोलन २०६२/६३ मा नेतृत्वदायी भूमिकामा सहभागी थिए । साथै उनले रोयल सहकारी, जिल्ला बालकल्याण समिति तथा विभिन्न गैरसरकारी संघसंस्थामा लामो समय नेतृत्व गर्दै सामाजिक सेवामा अनुभव बटुलेका छन् ।