काठमाडौं । आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ–१ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएकी छन् । रास्वपाले उनलाई प्रत्यक्षतर्फको टिकट प्रदान गर्दै चुनावी मैदानमा उतारेको हो ।
सोमबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत गणेश पराजुलीले तामाङलाई आधिकारिक टिकट हस्तान्तरण गरेका हुन् । यससँगै धादिङ–१ मा रास्वपाको उम्मेदवारको रूपमा तामाङको नाम औपचारिक रूपमा सार्वजनिक भएको छ ।
सामाजिक अभियानबाट राजनीतिसम्म
तामाङ विभिन्न सामाजिक अभियानमा सक्रिय अभियन्ताका रूपमा परिचित छन् । विशेषगरी जेन–जी आन्दोलनका क्रममा घाइते भएका तथा ज्यान गुमाएका परिवारका लागि सहयोग संकलन र समन्वय गर्दै आएको भूमिकाले उनलाई चर्चामा ल्याएको थियो ।
समानुपातिक सूचीप्रति असन्तुष्टि
यसअघि रास्वपाको समानुपातिक उम्मेदवार चयन प्रक्रियाप्रति तामाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी थिइन् । पार्टीभित्रको निर्णयप्रक्रियाबारे खुलेर धारणा राखेकी उनी अन्ततः प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार चयन भएकी हुन् ।
रास्वपाको नयाँ अनुहारमा भरोसा
रास्वपाले यसपटक सामाजिक आन्दोलन र नागरिक अभियानबाट उदाएका व्यक्तिहरूलाई प्राथमिकता दिएको संकेतका रूपमा तामाङको उम्मेदवारीलाई हेरिएको छ । पार्टीले नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक अभ्यासलाई अघि बढाउने रणनीतिअनुसार उनलाई मैदानमा उतारेको बताइएको छ ।