काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वयको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता भएको छ।
दाङको बबई गाउँपालिका–७ का राजकुमार डाँगीले कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको पद खारेजको मागसहित निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
विधान उल्लंघन भएको दाबी
डाँगीले नेपाली कांग्रेसको विधानको धारा ५९ अनुसार विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यक्तिहरू निर्वाचित भएको दाबी गरेका छन्। उनका अनुसार पौडेल र घिमिरे दुवै जना १४औं महाधिवेशनमा क्रमशः महामन्त्री र कोशी प्रदेश सभापतिमा पराजित भइसकेकाले १५औं महाधिवेशनअघि आयोजित विशेष महाधिवेशनमा उम्मेदवार बन्न अयोग्य थिए।
पद खारेजीको माग
निवेदनमा विधानले तोकेको व्यवस्था उल्लंघन गरी पद प्राप्त गरिएको उल्लेख गर्दै दुवै महामन्त्रीको पद खारेज गर्न माग गरिएको छ। निर्वाचन आयोगलाई विधानअनुसार आवश्यक निर्णय लिन आग्रह गरिएको छ।
कांग्रेस विवाद अदालतसम्म
यसैबीच, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिइसकेको छ। तर कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिसकेको छ। यससँगै कांग्रेसभित्रको आन्तरिक विवाद संवैधानिक निकाय र अदालतसम्म पुगेको छ।