काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न राष्ट्रियसभाका तीन जना सदस्यहरूले आइतबार राजीनामा दिएका छन्। प्रतिनिधिसभाको टिकट पाएपछि नारायणकाजी श्रेष्ठ,वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका छन्।
वामदेव गौतम २०७४ सालमा एमालेबाट उठ्दा पराजित भएको बर्दिया क्षेत्र नम्बर १ बाट उठ्दैछन् । उनले नेकपाबाट टिकट लिइसकेका छन् ।
गृहजिल्ला गोरखामा पराजित भएपछि राष्ट्रिय सभातिर गएका नारायणकाजीले यस पटक सर्लाही क्षेत्र नम्बर ३ बाट उठ्न टिकट लिएका छन् ।उता भगवतीलाई एमालेले तनहुँ १ बाट उठ्न टिकट दिएको छ । यी तीनैजनाको राजीनमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुझेर स्वीकृत गरेका छन्।