काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीका पदाधिकारी, पूर्वसांसद तथा प्रदेश सभापतिलाई प्राथमिकता दिने निर्णय गरेको छ। पार्टी स्रोतका अनुसार प्रमुख नेताहरूले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रसमेत लगभग निश्चित भइसकेको छ।
प्रदेश नेतृत्व र उम्मेदवारीको अवस्था
प्रदेश सभापतिहरूमध्ये सुदूरपश्चिमका सभापति प्रकाश विष्टले उम्मेदवार बन्न इच्छा नदेखाएको जानकारी पार्टी नेताहरूले दिएका छन्। अन्य प्रदेशका नेताहरू भने आ–आफ्ना क्षेत्रमा उम्मेदवारीको तयारीमा जुटिरहेका छन्।
पदाधिकारीहरू कुन क्षेत्रमा उम्मेदवार ?
रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले अघिल्लोपटक प्रतिस्पर्धा गरेको तनहुँ–१ बाट पुनः उम्मेदवार हुने भएका छन्। अर्का उपसभापति डीपी अर्याल, जो अघिल्लो निर्वाचनमा समानुपातिक सांसद बनेका थिए, यसपटक काठमाडौं–९ बाट उम्मेदवार बन्ने भएका छन्।
सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिँदै काठमाडौं–२ बाट प्रत्यक्ष उम्मेदवारी दिने तयारी गरेका छन्। अघिल्लो निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम भने चितवन–३ बाट उम्मेदवार हुने भएकी छन्।
अघिल्लो जितेकै क्षेत्रमा दोहोरिने तयारी
शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठले अघिल्लो निर्वाचनमा जितेकै क्षेत्रमा पुनः उम्मेदवारी दिने टुंगो लागेको छ। खनाल काठमाडौं–६, पराजुली काठमाडौं–७ र श्रेष्ठ काठमाडौं–८ बाट प्रतिस्पर्धा गर्ने भएका छन्।
यसैगरी, अघिल्लो चुनावमा काठमाडौं–१० बाट उम्मेदवार बनेका जिल्ला सभापति प्रदीप विष्टले यसपटक पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। पार्टीका अनुसार चितवन–१ बाट हरी ढकाल र कञ्चनपुर–२ बाट दीपक बोहरा उम्मेदवार बन्ने टुंगो लागेको छ। भक्तपुर–२ बाट भने पूर्व सञ्चारकर्मी राजीव खत्रीको उम्मेदवारीको चर्चा चलिरहेको छ।
रास्वपा नेताहरूका अनुसार हिमाली क्षेत्रका उम्मेदवार आइतबार बिहान टुंग्याइनेछ भने अन्य सबै क्षेत्रका उम्मेदवार दिउँसोसम्म अन्तिम रूप दिने तयारी भइरहेको छ।