काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका छन्।
शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले भने, “अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो इच्छा छ।” उनले संसदमा पुगेर पत्रकार र सञ्चार क्षेत्रसँग सम्बन्धित हकहितमा काम गर्ने आफ्नो उद्देश्य पनि सार्वजनिक गरे।
तर, मन्त्री खरेलले कुन क्षेत्रबाट वा कुन पार्टीबाट चुनाव लड्ने भन्ने विषयमा भने खुलासा गरेनन्। फागुन २१ का लागि निर्वाचन अघि माघ ६ गते मनोनयन दर्ता हुने कार्यक्रम तय छ।
यसअघि अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङसमेत राजीनामा दिएर प्रत्यक्ष राजनीतीमा आईसकेका छन्।