काठमाडौं - नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाइ दिँदै पार्टी फुटेको नभई सकारात्मक परिवर्तन आएको बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै नेतृ कोइरालाले नेपाली समाज र युवापुस्ताले परिवर्तन चाहेको उल्लेख गरिन्। उनले भनिन्, “परिवर्तनलाई हाँसेर, खुसी भएर अंगालो मार्नुपर्छ। नेपाली कांग्रेसमा परिवर्तन आएको हो, पार्टी फुटेको छैन। नयाँ सभापति आउनुभएको छ, म बधाइ दिन चाहन्छु।”
उनले सभापति थापालाई पार्टी नेतृत्व गर्दा बीपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक परम्परा नबिर्सन सुझाव दिइन्। साथै, परिवर्तनलाई सहज रूपमा स्वीकार गर्न र कानुनी व्याख्यामा अत्यधिक अल्झिनु नहुने धारणा व्यक्त गरिन्।
नेतृ कोइरालाले सबै नेता–कार्यकर्तालाई संयमित रहन, कसैलाई पनि नआत्तिन र नडराउन आग्रह गर्दै कांग्रेस अब नयाँ दिशातर्फ अघि बढेको संकेत गरिन्।