काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामाङलाई सो क्षेत्रबाट चुनाव लड्नका लागि टिकट दिएका हुन्।
तामाङ नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्। उनले आफूले उम्मेदवारी पाएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै, झापा–५ का मतदातालाई चुनाव चिह्न ‘तारा’ मा मतदान गरी जनसेवाको अवसर दिन अपिल गरेका छन्।
झापा–५ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो। यसपटक पनि एमालेबाट ओली नै उम्मेदवार हुने निश्चित रहेको बताइएको छ।
यस्तै, सोही निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई उम्मेदवार बनाउने विषयमा पनि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।