काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । सो पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा अहिले केहिबेरमा बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।
पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो ।
देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो । तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ । यहि अवस्थालाई मध्यनजर गर्दै देउवाले केहि महत्वपुर्ण निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।