काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापा ले पार्टीभित्रको विशेष महाधिवेशन र यससँग सम्बन्धित विवादबारे स्पष्ट पार्दै सबैमा एकता र संयम अपनाउन हार्दिक अपील गरेका छन्।
थापाले प्रेस विज्ञप्तिमार्फत बताएका छन् कि नेपाली कांग्रेसमा विधि, विधान र प्रक्रिया स्थापित छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, कानून र पार्टीको विधानअनुसार निर्णय गरेकोमा कांग्रेसले आभार प्रकट गरेको छ।
थापाले विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसले आफ्नो मूल मूल्य, मान्यता र आदर्शमा फर्केको बताए। उनले सबै सदस्य, शुभेच्छुक, अग्रज र देश–विदेशमा रहेका पार्टी समर्थकलाई अपील गर्दै भने, “यो प्रक्रिया जय–पराजयको विषय होइन। अब पार्टीमा कुनै गुट छैन र गुटगत भागबण्डा हुने छैन। पार्टीका सदस्यको चाहना नै निर्णयको आधार हुनेछ।”
उनले कांग्रेसको रिफर्मको यात्रा सुरु भइसकेको र आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध र व्यापक तयारीसहित अगाडि बढाउने लक्ष्य रहेको बताए। थापाले सबै देशवासी र पार्टीका शुभेच्छुकलाई कांग्रेसको लोकतान्त्रिक, जनमुखी र मूल्य–सिद्धान्तसम्मत भविष्य निर्माणमा साथ दिन आग्रह गरे।
