डडेल्धुरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट सागर ढकाललाई उम्मेदवार बनाउने तयारी गरेको भन्ने चर्चापछि असन्तुष्टि देखिन थालेको छ। रास्वपा डडेल्धुरासँग सुरुदेखि आबद्ध कार्यकर्ता तथा समर्थकहरूले स्थानीय नेतृत्वलाई बेवास्ता गर्दै ‘हुकुमी शैली’मा उम्मेदवार थोपर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
अजयमेरु गाउँपालिका–२ डडेल्धुराका राजेन्द्र ऐरले सागर ढकाल सक्षम र अनुभवी युवा भए पनि डडेल्धुराका लागि उपयुक्त उम्मेदवार नभएको दाबी गरेका छन्। उनले ढकाल न त डडेल्धुराको भूगोल, न इतिहास र न त स्थानीय संस्कृतिसँग परिचित छन् भन्दै प्रश्न गरेका छन् ।
ढकाल देश–विदेशको अनुभव भएका युवा भएपनि डडेल्धुराका लागि उनीभन्दा सक्षम, अनुभवी र स्थानीय नेतृत्वहरू पार्टीभित्रै रहेको बताएका हुन् ।उनले डडेल्धुराबाट रास्वपाका सम्भावित उम्मेदवारका रूपमा पार्टी जिल्ला सभापति इञ्जिनियर सुरेन्द्र अवस्थी र हाल प्रदेश सभा सदस्य डा. तारा जोशीको नाम उल्लेख गरेका छन्।
ऐरका अनुसार इञ्जिनियर अवस्थीले पार्टीको कठिन समयमा संगठन जोगाउँदै स्थानीय तहसम्म बलियो सम्बन्ध बनाएका छन् भने डा. जोशीले लामो समयदेखि डडेल्धुराको राजनीतिमा सक्रिय रहँदै आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
डा. जोशीले बलियो संगठन भएका कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै निर्वाचन जितिसकेृका नेता हुन् । अनुभव, विज्ञता र स्थानीय स्वीकार्यताको हिसाबले उनिहरु ढकालभन्दा कमजोर कसरी हुनुभयो भन्दै प्रश्न गरेका हुन्। ऐरले काठमाडौंमा बसोबास गर्ने केही नेताहरूले डडेल्धुरामा उम्मेदवार चयन गर्दा स्थानीय पार्टी संरचना र कार्यकर्ताको मतलाई बेवास्ता गरिरहेको आरोप पनि लगाएका छन्।
उनले पार्टी नेतृत्वलाई यस्ता ‘हुकुमी शैली’ तत्काल रोक्न आग्रह गर्दै यसले दीर्घकालमा पार्टीलाई नै क्षति पुर्याउने चेतावनी दिएका छन्। साथै, ऐरले अवस्थी र डा.जोशीलाई सहमतिमा एक जना उम्मेदवार अघि सार्न पनि आग्रह गरेका छन्।
यता पार्टी जिल्ला सभापति अवस्थीले पार्टीको औपचारिक निर्णय नभएको स्पष्ट पार्दै उनले सार्वजनिक रूपमा बनाइँदै आएको माहोललाई मिडिया ट्रायलको संज्ञा दिएका हुन्।पार्टी सभापति रवि लामिछानेसहितको टोलीले डडेल्धुरामा ढकाल कमजोर उम्मेदवार रहेको निष्कर्ष निकाल्दै रुपन्देही–२ बाट चुनाव लड्न सुझाव दिएको थियो।
तर, त्यसपछि पनि सागरले डडेल्धुरामै उम्मेदवारी दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिइरहेको उनको भनाइ छ। डडेल्धुरामा जबर्जस्ती उम्मेदवार स्वीकार्य नहुने स्पष्ट पार्दै अवस्थीले स्थानीय नेतृत्व र कार्यकर्ताको भावनालाई बेवास्ता गर्न नहुने बताउदै आएका छन् । यस विषयमा डा. जोशीले भने कुनै प्रतिकृया दिएका छैनन् ।