काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा बनेको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र अर्का एक आयुक्तले पार्टीको दुवै पक्षबाट पेस भएका विवरणको अध्ययनपछि विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति नै आधिकारिक भएको ठहर गरेका हुन्। आयोगका तीन सदस्यमध्ये दुई जनाले यस पक्षमा र एक जना विपक्षमा राय दिएका थिए। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधर पक्षमा थिए भने अर्का आयुक्त सगुन शमशेर राणा विपक्षमा थिए।
गगन थापा नेतृत्वको कार्यसमितिले बिहीबार आयोगमा आफ्नो आधिकारिकता दाबी गर्दै विवरण अद्यावधिक गर्न अनुरोध गरेको थियो। त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेता शुक्रबार बिहान आयोग पुगेका थिए। खड्का पक्षले पनि आफ्नो पक्षको निर्णय तथा दस्तावेज आयोगमा पेश गरेको थियो।