काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनलाई लिएर प्रश्न उठाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सडकको दबाबका आधारमा बहुमत देखाउने अभ्यास लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल नखाने टिप्पणी गरेका हुन्।
अध्यक्ष ओलीले नियमित समयमै महाधिवेशन हुनुपर्ने व्यवस्था हुँदाहुँदै कांग्रेसले विशेष महाधिवेशन किन आयोजना गर्यो भन्ने प्रश्न उठाए। उनले पार्टीभित्र बैठक बोलाउने, महाधिवेशन आह्वान गर्ने र बहुमत–अल्पमतको निर्णय गर्ने स्पष्ट विधि र परम्परा हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले भने, “पार्टीको कार्यकाल, महाधिवेशनको समय र प्रक्रिया सबै तोकिएकै हुन्छन्। कसले बैठक बोलाउने, कसले महाधिवेशन घोषणा गर्ने भन्ने थिति हुन्छ। बहुमत र अल्पमतको निर्णय पनि विधिबाट हुनुपर्छ। सडकमा बहुमत पुर्याएँ भनेर घोषणा गर्दैमा मान्य हुन्छ र?”
ओलीले यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने र समाजलाई क्रमशः अराजक दिशातर्फ लैजान सक्ने आरोपसमेत लगाए।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। तर सभापति शेरबहादुर देउवा पक्षले उक्त निर्णयलाई आधिकारिक मान्यता दिन नहुने दाबी गर्दै निर्वाचन आयोगमा ध्यानाकर्षण गराइरहेको छ।