काठमाडौं । नागरिक बचाउ दल नेपालका सभापति माधव प्रसाद खतिवडाले सरकारसमक्ष राखिएका पाँच सूत्रीय माग पूरा नभएसम्म निर्वाचन हुन नसक्ने दाबी गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
खतिवडाका अनुसार दलले अघि सारेका मागहरू सम्बोधन नगरी अघि बढाइने कुनै पनि निर्वाचन प्रक्रिया वैधानिक र व्यवहारिक नहुने स्पष्ट सन्देश सरकारलाई दिइसकिएको छ। उनले निर्वाचनको मिति कम्तीमा छ महिनापछि मात्र सार्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा लेखिएको आफ्नो भनाइमा खतिवडाले सरकारले यस विषयमा गम्भीर ध्यान दिइसकेको उल्लेख गर्दै फागुन २१ गते निर्वाचन नहुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्। उनले सरकारसँग संवाद जारी रहेको र माग सम्बोधन नभएसम्म चुनाव सम्भव नहुने अडान दोहोर्याएका छन्।
नागरिक बचाउ दल नेपालले अघि सारेका मागबारे सरकारको औपचारिक प्रतिक्रिया भने अहिलेसम्म आएको छैन।