काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पार्टीभित्र विवाद चर्किएको छ। यसैक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरू शुक्रबार बिहान निर्वाचन आयोग पुगेका छन्।
निर्वाचन आयोग जाने नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, धनराज गुरुङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ‘डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेतलगायत सहभागी छन्।
देउवा समूहले आफ्नो नेतृत्वकै कांग्रेसलाई आधिकारिक पार्टी मान्यता दिनुपर्ने मागसहित आयोग पुगेको जनाएको छ। कांग्रेस नेता कल्याण गुरुङका अनुसार केन्द्रीय तहका नेता, जिल्ला सभापति र भ्रातृ संगठनका प्रतिनिधिहरू संयुक्त रूपमा आयोगमा उपस्थित भएका हुन्।
उनले आयोगका पदाधिकारीसँग औपचारिक छलफलका लागि आफूहरू आएको र पार्टीको वैधानिक हैसियतबारे आफ्नो धारणा राखिने बताए।
हाल देउवा पक्षका नेताहरू आयोगका पदाधिकारीसँग भेटका लागि प्रतीक्षामा रहेका छन्। यता, सोही पक्षका तरुण दलका कार्यकर्ताहरूले आयोग परिसर बाहिर धर्ना दिइरहेका छन्। पार्टीको आधिकारिकता सम्बन्धी विवाद अब निर्वाचन आयोगको निर्णयतर्फ केन्द्रित भएको छ।