काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत देउवा पक्षले देखाएको व्यवहारको निन्दा गर्दै कांग्रेसमा नेतृत्व परिवर्तनको माग कांग्रेसीजनको मात्र नभइ देशकै भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको हो । यसको सम्पूर्ण जिम्मेवारी शेर बहादुर एण्ड कम्पनीले लिनैपर्छ । कांग्रेसमा नेतृत्व परिवर्तनको माग कांग्रेसीजनको मात्र होइन, देशकै हो । लोकतन्त्रमा विश्वास राख्ने हरेक देशवासीले कांग्रेसमा नेतृत्व परिवर्तन भएको हेर्न चाहन्छन् ।’
खरेलले पार्टीको विशेष महाधिवेशन चलिरहँदा सभापति देउवा समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेकोमा समेत आक्रोश व्यक्त गरेका छन् ।