काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता कसको भन्ने विषयले पार्टीभित्र विवाद चर्किँदै गएको छ। यही विषयलाई लिएर दुबै पक्ष कानुनी प्रक्रियामा जाने तयारीमा देखिएका छन्।
विशेष महाधिवेशन आयोजना गरेको गगन थापा–विश्वप्रकाश शर्मा समूहले आफूहरूले नयाँ नेतृत्व चयन गरिसकेको दाबी गर्दै निर्वाचन आयोगमा आवश्यक कागजात बुझाउने तयारी थालेको छ। उनीहरूले बुधबार राति सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको बताएका छन्। तर उक्त निर्णयलाई सभापति शेरबहादुर देउवा निकट समूहले अस्वीकार गरेको छ।
नयाँ कार्यसमितिका तर्फबाट निर्वाचन आयोगमा बुझाइने कागजातमा दलका पदाधिकारीहरूको विवरण तथा विधानमा गरिएका केही संशोधनसम्बन्धी प्रावधान अद्यावधिक गरिने बताइएको छ।
कानुनी परामर्शदाता राजु कटवालका अनुसार सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएकाले आधिकारिक अभिलेख अद्यावधिक गर्न आयोगमा निवेदन पेस गरिने तयारी भइरहेको छ। उनका अनुसार यसका लागि आवश्यक फाइल संकलनको काम अन्तिम चरणमा पुगेको छ।