काठमाडौँ । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको आज दिउँसो निधन भएको छ। पारिवारिक स्रोतका अनुसार बोहरा कम्मरको अपरेशनपछि उपचाररत थिए।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर बेदकोटका स्थायी बासिन्दा बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए। पछिल्लो समय उनी ललितपुरको इमाडोलमा बस्दै आएका थिए।
उनले २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए। भिमदत्त पन्त र बी.पी. कोइरालाबाट प्रभावित बोहराले पाँच वर्ष जेल जीवनसमेत बिताएका थिए। उनी कञ्चनपुर कांग्रेसका संस्थापक नेतामध्ये एक हुन्।
प्रजातन्त्र स्थापना भएपछि २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति बनेका बोहरा २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका राजनीतिक सल्लाहकार पनि भएका थिए।
२०७० सालमा संविधान सभा सदस्य बनेर उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसबेला उनी प्रतिनिधिसभाअन्तर्गत विकास समितिमा रहेर काम गरेका थिए।